Thursday, September 1, 2011

उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ

- लक्ष्मण गाम्नागे

खोपडीभित्रको गिदी गिद्धहरूलाई चढाएर
पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर
हाम्रा माननीय सभासद्हरू
सम्विधान बनाउन छटपटाइ रहनुभएको छ
उडौंला उडौंला जस्तो गरेर
ब्रोइलर पखेटा फट्फटाइ रहनुभएको छ
खबरदार साथीहरू हो हल्ला नगरौं !
उहाँहरू केही न केही गरेको ग¥यै हुनुहुन्छ
पिँधमा प्वाल परेको घ्याम्पो भरेको भ¥यै हुनुहुन्छ
तलवभत्ताको भर्पाइमा नियमित हस्ताक्षर जनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

कोही भित्र पस्दै हुनुहुन्छ
कोही बाहिर निस्कँदै हुनुहुन्छ
कोही कुर्सीमा उङ्दै हुनुहुन्छ,
कोही शौचालय सुङ्दै हुनुहुन्छ
सुत्केरी हुन लागेकी गौ माताझैं
कोही बारम्बार उठ्तै – बस्तै हुनुहुन्छ ।
बिक्रीको लाइनमा जो हुनुुहुन्छ
खसी बोका भन्दा सस्तै हुनुहुन्छ
हल्ला नगरौं साथीहरू हो !
कोही आफ्नो रातो पासपोर्टमा अर्कैको फोटो टाँसेर
इमिग्रेसनमा छाप हनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

खैनी माडेर धुलो फैलाउँदै हुनुहुन्छ कोही
ग्याँस्टिकको दुर्घन्ध छाडेर सभा मैल्याउँदै हुनुहुन्छ कोही
आज साँझ कुन रेष्टुराँमा नयाँ नेपाल निर्माण गर्ने
योजना बनाउँदै हुनुहुन्छ कोही ।
नुहाउनै नभ्याई सभामा आउनुभएछ क्यारे
मसाज सेन्टर गनाउँदै हुनुहुन्छ कोही ।
बित्थैमा कुनै आरोप नलगाउनोस् साथी उहाँहरूलाई !
उहाँहरू केही न केही गर्दै हुनुहुन्छ
दिनदिनै जाग्दै फेरि मर्दै हुनुहुन्छ
मुलुकलाई मलखाडी बनाउन
धमाधम खाडल खनाउँदै हुनुहुन्छ
संसदीय सुके लुतो कनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

घाँटी माडेर मयल झार्दै हुनुहुन्छ कोही
औलौ घुसारेर नाकको प्वाल ठूलो पार्दै हुनुहुन्छ कोही
कोही तुरतुरे लागेको रोगी झैं
पटकपटक ट्वाइलेट जाँदै–आउँदै हुनुहुन्छ
कोही मनमनमा ‘शिलाकी जवानी’ गाउँदै हुनुहुन्छ ।
शान्त बसौं साथी हो, बाधा नगरौं !
कोही भर्खरै भित्र्याएकी कान्छीसँग
भ्यालेन्टाइन डे मनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

लघु कथा

मौसमी माइकालाल

- रामविक्रम थापा

उसको वास्तविक नाम त थाहा भएन । उसको काम अनुसार उसलाई माइकालाल भन्छन् मान्छेहरू । न्वारानको नाम जेसुकै होस् । विकट पहाडी गाउँको सदावहार नेता हो ऊ । मात्र एक घरको त्यो बाहुनले सारा ग्रामवासी जनजातिहरूलाई विगत चालिस वर्षदेखि शासन गरिरहेछ । ऊ कहिल्यै ओरालो झर्दैन । उकालो चढेर माथि पनि पुग्दैन । तर आफ्नो यथास्थान कहिल्यै छाड्दैन ।
पञ्चायतकालीन गाउँफर्के अभियानबाट उसको राजनीति प्रारम्भ भयो । अर्थात् गाउँफर्कले उसलाई गाउँको नेता बनायो । पञ्चायत र राजाको सच्चा पहरेदार भएर पटक-पटक प्रधानपञ्च भयो । कति विकासे चामल खायो । बहुदल र निर्दलको चुनावमा निर्दलीय व्यवस्थालाई जिताउन माथिबाट आएको रकम पनि खायो ।

Wednesday, May 4, 2011

सभासदका दुखेसाहरु

बम बानिया प्रभात
bambaniya@yahoo.com

घिन लाग्दा समाचारहरु
नछाप ए पत्रकारहरु,
सवैका हिलो हाल्ने खाडी
हामी नै भयौ हगि ?
हाम्रो चै समस्या खै छापेको ?
पार्टीले आधा लेवी कटाएर लान्छ
कार्यकर्ताले गोजिवाटै थुतेर लान्छन्
सहयोग रसिद विहानै पिच्छे आउछन्
परिवार पाल्नै परो
वच्चा पढाउनै परो
के घाँडो आइलाग्यो यो
छ सय एक
अव त चिया पसल छिर्न पनि कठिन
तेलको लाइन वस्न पनि कठिन
हाम्रै नाम हाम्रै वदनाम,
के हामीलाई शान्ति चाहिएको छैन ?
जताततै मुख देखाइसक्नु छैन
रातो पासपोर्ट के रहरले वेचेको हो ?
हामीलाई विदेश घुम्न मन थिएन
के रहले विजुलि चोरेको हो ?
समस्या बुभ्ने गर्नुस हाम्रो पनि
जताततै विल मात्रै
महिना मर्नसाथ लाखको खडलमा
जम्मा पचपन्नहजारको आम्दानी,
यो कस्ले बुझेको छ ?
के श्रीमतिको विल नबुझाउनु ?
उसको उपचार कस्ले गर्ने त ?
अव चिसो खान दिएर झुकिन्नन् सभाषद्हरु
समस्या सभाषदका पनि छन्
के संविधान लेखीसकेर जोगी वनेर घर जाउँ ?
म्याद थप्नुको मज्जा थाह छैन र हामीलाई ?
संविधान ढिलै भएपनि बन्छ
तर हामी फेरि सभासद नवन्न सक्छौ ।
जनताहरु
पत्रकारहरु
कर्मचारीहरु
बुझ नपचाउनुहोस .....................

Tuesday, March 8, 2011

गीत

दिलिप साम्पाङ राई
९८५१०१९६०४


म आँसु पिएर मुर्छित हुँदा तिमी विजयउत्सव मनाइरहेथ्यौ
म वियोगमा छटपटाइरहँदा तिमी प्रणय बन्धनमा रमाइरहेथ्यौ

तिम्रो संसार बेग्लै रहेछ मैले कहिल्यै चिन्नै सकिन
पैसामा बिक्ने तिम्रो मायालाई मैले कहिल्यै किन्नै सकिन
म डाँको छोडेर रोईरहँदा तिमी उमंगको खित्का हाँसिरहेथ्यौ
म वियोगमा छटपटाइरहँदा तिमी प्रणय बन्धनमा रमाइरहेथ्यौ

मेरा यी आँखा नियालेर हेर पाउनेछौ चोखो मायाको छाप
मेरा यी धड्कन छामेर हेर पाउनेछौ साँचो मायाको भाव
म जीवनको आखिर सास लिइरहँदा तिमी भविष्य बनाइरहेथ्यौ
म वियोगमा छटपटाइरहँदा तिमी प्रणय बन्धनमा रमाइरहेथ्यौ

Monday, October 4, 2010

सिर्कना

- तिलक चाम्लिङ

सिर्कनाले हाचा गर्दै
नेपाली सर कोठामा छिरेपिछ
छपक्कै मिलेर बस्थ्यौँ
डरसरिको सास लुकाएर ।

अंग्रेजी नजान्नेले
आफ्नै आगनमा शीर खसाएझैं
भाषा नमिलेर
खुकुरीको चित्रकलालाई 'दाब्या' भन्दा
सबैले हाँसेपिछ
लाजले पढ्दिन भनेको थिएँ आफ्नै आमालाई ।

पिँजडाबाट उम्किएको चरीजस्तै खुसी भएर
स्कुलमा टिफिनको घन्टी बजेपिछ
किताबको भारीसंग फाल मार्दै आएर
आमाको पोल्टाभरि आफ्नै लवजमा
ढुक्कको सास फेर्दा कम्ता रमाइलो लाग्थेन ।

राष्ट्रिय धर्म हिन्दु भन्न नजान्दा
राष्ट्रिय भाषा नेपाली भन्न नजान्दा
सिर्कनाको सुम्ल्याइ सहन नसकेर
साथीभाइकै अघि तुरुक्कै रुइदिएको छु
अझै पनि बिरामी हुन्छु सिर्कना देखेँभने ।

राजाको सिँदुर पहिरिनेले
हवाइजहाज चढ्न पाइन्छ भन्दै
आमाले फुकाएपिछ
गोरखापत्रको खोल हालेको
राजाको फोटो भएको
महेन्द्र मालालाई कख्याएर स्कुल पुग्थेँ
लाम बस्दा भाँती पुर्र्याएर
'श्रीमान् गम्भीर नेपाली …' कण्ठस्त मुखाग्र सुनाउनलाई ।

दाब्या = खुकुरी

Tuesday, September 28, 2010

ल्होछम्पेली कवि

- नाकिमा

तिम्रो शिरमा
कुला काङ्ग्रीको उचाइ देख्छु
तिम्रो आँखामा
ड्राङ्मे छुको गहिराइ भेट्छु
तिम्रो नशानशामा
मानस बगेको अनुभूत गर्छु
ओ ल्होछम्पेली कवि !

डुलिरहेथ्यो पवन
हाँसिरहेथ्यो फूल
हिँडिरहेथ्यो नदी
दौडिरहेथ्यो समय
जब जोङ्खाली तातो झिरले
तिम्रो जिब्रो डामियो
तिमीले बेस्सरी मुठ्ठी बजार्यौ
जब तिम्रो घरभित्र श्रीपेच छिर्यो
तिमीले रातो झण्डा उचाल्यौ

थाहा छ मलाई
कारागारको चिसो बतासले
स्पर्श गरेका छ तिमीलाई
सम्झना छ मलाई
एक पाइला अगाडि बढ्दै
दुई पटक पछाडि हेर्दै
आइपुगे थ्यौ यहाँ तिमी
बिजुली चम्किरहेको त्यो रात

यतिखेर
तिम्रो मस्तिष्कमा दगुरिरहेछन्
सम्झनाका ती खण्डित आकृतिहरु
बाँच्नका निम्ति
आफैलाई ढाँटेका दृश्यहरु
जिन्दगीको मध्यान्तरमा उभिएर
तिमी टुलुटुलु हेरिरहेछौ
चुक्कुल लाएर
'खुच्चिङ' गरिरहेछ बङ्गाल
चिलमाथि चढेर
लगातार उडिरहेछन् पश्चिमतिर
तिम्रा केही सपनाहरु
तिमीले नजिकबाट नियालेका छौ
स्वतस्फूर्त
कसरी आगोमा रुपान्तरित भए
यहाँका प्रत्येक झुपडीहरु
र लगाए डढेलो
महल र दरबारहरुमा
नजिकबाट नियालेका छौ
एकएक गरी

अब स्वयम् तिमी
आगो बनेर
त्यहिँ फर्कन चाहन्छौ
जहाँ छ तिम्रो पुर्खाको चिहान
जहाँ छ तिम्रो सपनाको बिहान

ओ ल्होछम्पेली कवि !
तिम्रो थाप्लोले
कुला काङ्ग्री थामेको छ
तिम्रो नशानशामा
मानस बगेको छ
तिम्रो आँखामा
ड्राङ्मे छु अटाएको छ
तर बिडम्बना !
अटाएनौ तिमी
त्यो सिङ्गो भूटानमा ।

ल्होछम्पेली- नेपालीभाषी भूटानी नागरिक ।
कुल काङ्ग्री- भूटानको सबैभन्दा अग्लो हिमाल ।
ड्राङ्मे छु- भूटानको सबैभन्दा गहिरो उपत्यका ।
मानस- भूटानस्थित एक नदी ।
जोङ्खा- भूटानको राष्ट्रिय भाषा ।

Monday, June 28, 2010

जीवन गतिको दैनिकी


-टेकेन्द्र अधिकारी









ब्यूँझिनुभन्दा पहिले
धर्तीमा पाइला टेक्ने घाम
सगरमाथामा सून बर्षाउँदै
चाँदी पगालिरहेको हुन्छ ।

बिहानीको झूल्कोसँगै
जब म ब्यूँझन्छु
सुन-चाँदी मिश्रित हावाले
तन्द्रा र निद्रा दुवै उडाउँछ
निद्रातुर यी आँखामा
मीठो सपना यथार्थ बनेर
सिङ्गो सगरमाथा उभिन्छ ।

स्वर्गीय आनन्न महसुस गर्दै
एकमुठी दूधकोसीको पानीले
जब पखाल्छु आफ्नै मुहार
आफूमा स्वच्छता महसुस गर्छु
त्यही पानीको सङ्लो ऐनामा
अतीत, वर्तमान र भविष्य हेर्छु् ।

हरेक दिन/प्रत्येक प्रहर
सगरमाथा र दूधकोसीसँग
लुकामारी खेल्दै/जिस्किँदै
सुरु हुन्छ मेरो दैनिकी
युगौँयुग पुरानो यो नाता
पुर्खाले छुट्याएको साँधभन्दा
धेरै माथि छ ।

मुहानको प्रतीक पानी
जीवनको पर्याय पानी
रावा र सावाखोलाको मितेरी
जीवनको गीत बनाएर गाउँदै
कुइनेटा र घुमाउने दह छल्दै
बग्दो छ जीवनको गति ।

आफन्त गुमाएको पीडाले
मन बेस्सरी पिरोलिन्छ
पाखो र भन्ज्याङ छिचोल्दै
बग्दै सप्तकोसीमा मिसिँदा
म शक्तिहीन भइसकेको छु
मेरो आवाज बदलिएको छ
पानीमा दूधकोसीको रङ छैन
न जीवन छ पानीथोपामा ।

बग्नु जीवनको खास अर्थ
गतिशीलता जीवनको पर्याय
कोसीका छालहरु गन्दागन्दै
पत्तै नपाई मिसिन्छ/हराउँछ
बालुवामा माटो कोट्याउँदै
माटोमा फेरि बालुवा खोज्दै
अस्तित्वको खोजी जारी छ
गिट्टी र बालुवाको थुप्रोमा
चल्दैछ जीवनको लुकामारी
नियमित कंकि्रट थुपारेर
जीवन खोज्ने क्रम उही छ ।

आफ्नै आयु नाप्नुको यथार्थमा
दूधकोसीमा सगरमाथा टल्काउँदै
सगरमाथामा दूधकोसी बगाउँदै
जीवन बुझ्ने प्रक्रिया चालु छ
खोक्रो आडम्बरको संस्कारमा
एकाकार आकारहीन बन्दै
गोहीले आँसु खसालेको सारमा
जीवन छ पनि, छैन पनि ।


ज्यामिरे-८ खोटाङ
हालः बिराटनगर